Tuesday, 1 July 2014

पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१८सम्ममा

सबै काम योजना अनुसारै अघि बढे देशमा अबको चार वर्षभित्र थप दुई वटा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण हुने नागरिक उड्यन प्राधिकरणका अधिकारीहरुले बताएका छन्। 

उनीहरुको भनाइमा समयमै ऋण तथा सहयोग रकम प्राप्त भएमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१८ सम्ममा तयार हुनेछ। गौतम वुध्द क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चाँही सन् २०१७ सम्ममा सक्ने लक्ष्य छ। 
                                   (पोखरा विमानस्थल क्षेत्र तस्वीर साभार sydneynepal.com) 

सन् २०१४को जुनमा चाइना सीएमएसी इन्जिनियरिङ कम्पनी र नेपाल नागरिक उड्यन प्राधिकरणका उच्च अधिकारीबीच पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति सम्झौता भएपछि वर्षौ देखि थाँती रहेको सो योजना अघि बढ्ने भरपर्दो आधार तयार भएको हो। 

करिव २१ अर्ब रुपैंयाको लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति इन्जियनियरिङ खरिद तथा निर्माण सम्वन्धी इपीसी सम्झौतामा हस्ताक्षर भएपछि अब चीनको एक्जिम बैंक संग ऋण लिने काम सक्नु पर्ने प्राधीकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बताए। 


पोखरामा हालको विमानस्थलबाट केही पर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भन्दै सरकारले ४० वर्ष अघि नै ३,००० रोपनी जग्गा अधिग्रहण गरेको थियो। प्राधिकरणका प्रवक्ता वीरेन्द्र प्रसाद श्रेष्ठका अनुसार एक वर्षमा थप जग्गा अधिग्रहण र विमानस्थलको डिजाइनको काम सकेर थप तीन वर्षमा अर्थात सन् २०१८मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सक्ने योजना छ।


लुम्बिनीमा चाँही एसीयाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा हालको गौतम बुध्द विमानस्थलको स्तरोन्नती गर्दै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नको निम्ति केहि दिनअघि मात्रै थप ऋण सम्झौता भएको थियो।

सो विमानस्थल निर्माणको लागि प्राप्त भएका टेन्डरहरुको हाल धमाधम मूल्यांकन भइरहेको महानिर्देशक सुमनले बताए।




                            
(प्रस्तावित भैरहवा विमानस्थल। साभार ekantipur.com)

करिव ५ अर्ब रुपैंयाको लागतमा सो विमानस्थलको निर्माण कार्य सन् २०१७मा सक्ने लक्ष्य लिइएको छ। लुम्बिनीमा सीधै अन्तर्राष्ट्रिय पर्यटकहरु भित्र्याउन सहयोग पुर्याउने सो विमानस्थलको धावनमार्गको लम्बाइ करिव ३००० मीटर लामो हुनेछ। त्यो लगभग त्रिभुवन विमानस्थलको जत्रै हुनेछ। त्यो भन्दा केही सानो हुने पोखरा विमानस्थलको धावनमार्गको लम्बाइ चाँही २५०० मिटर लामो हुने छ। दुबै धावनमार्गमा मझ्यौला आकारका जेट प्लेन अवतरण तथा उडान गर्न सक्ने छन्। 

(साभार:  सुरेन्द्र फुयाल, बीबीसी काठमाण्डू)